नियम १५
उम्मेदवारले नाम फिर्ता लिन सक्ने
(१) उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र आफ्नो नाम फिर्ता लिन चाहेमा नियम १३ बमोजिमको निर्वाचन अधिकृत समक्ष निवेदन दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम नाम फिर्ता लिन कुनै निवेदन परेमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाई सोको जानकारी सम्बन्धित दललाई दिइनेछ । (३) उपनियम (१) बमोजिम कुनै उम्मेदवारले नाम फिर्ता लिएको जानकारी प्राप्त भए पछि निर्वाचन कार्यक्रममा तोकिएको समयभित्र त्यस्तो दलले अर्को उम्मेदवार मनोनयन गरी पठाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम दलले अर्को उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको उम्मेदवारले नाम फिर्ता लिएको हो सोही समूहको उम्मेदवार मनोनयन गरी पठाउनु पर्नेछ ।